• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

पूर्व राजा ज्ञानेन्द्रको कडा विज्ञप्ती-‘नेपालको अस्तित्व र पहिचान जोगाउन लाग्नुपर्ने भयो’

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले गद्दी छाडेको एक दशक नबित्दै देश रहने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको बताएका छन्। शाहले पृथ्वी जयन्तिको पूर्व सन्ध्यामा वक्तव्य निकाल्दै देशको क्षेत्रीय अखण्डतामा प्रहार भएको बताएका छन् ।

उनले पृथ्वी नारायाण शाहको नेतृत्व कौशलता र दूरदर्शीताकै कारण नेपालको राष्ट्रियता प्राप्त भएको बताउँदै अहिले राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा परेको उल्लेख गरेका छन् ।

उनले चार वर्ण र ३६ जातको फूलबारी रहेको नेपालमा जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय खण्डतामाथि प्रहार गर्ने कामहरू भइरहेको बताएका छन् ।

यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको उनले जारी गरेको शुभकामना शन्देशमा उल्लेख छ । साथै उनले जो जसले विषारोपण गरेको भएतापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेको बताएका छन् ।

साथै उनले नेपाली जनताको इच्छानै राज इच्छा हुने भएकोले आफूहरू तत्कालिन परिस्थितिलाई समेत दृष्टिगत गरेर आफूहरू नारायणहिटी राजदवारबाट बाहिरिएको बताएका छन् ।

२९५ औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले नेपाली जनताको इच्छा अनुसार नारायणहिटी दरबारबाट बाहिरिएपनि एक दशक नबित्दै नेपाल बच्ने हो कि होइन भन्ने चिन्ताजनक अवस्था आइपुगेको दावी गरेका हुन्।

‘तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीम आज हामी आइपुगेका छौं’ उनले भनेका छन्।

उनले देश कसैको क्रिडास्थल बन्न दनि नहुने भन्दै देशभक्त नेपालीहरूले एकतावद्ध भई नेपालको अस्तित्व र पहिचान जोगाउन लाग्नुपर्ने बताएका छन्।

यस्तो छ उनको विज्ञप्ति

पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट २९५ औं पृथ्वी जयन्तीका उपलक्ष्यमा २०७३ पौष २७ गते बक्सेको शूभकामना

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नू हामी सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको छ । चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको यस मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् । यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास भइरहेको छ ।

स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हूने परंपरा रही आएको यस मूलूकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । दशक नवित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीम आज हामी आइपूगेका छौं ।

देश कसैको क्रिडास्थल होइन, हून सक्दैन र हून दिइनू पनि हूंदैन भन्ने सोचकासाथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ । नेपाली भनेका जो जहां रहे बसे पनि नेपाली नै हून् । देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हून्छन् भन्ने हामीले उदाहरण बन्नू परेको छ । विश्व समूदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहंदा हामी भने थप विपन्नतातर्फ अग्रसर हूंदै छौं । विश्वमा राष्ट्रवादी भावनाको जागरण आउंदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आंच पूग्ने व्यवहार प्रस्तूत गर्दैछौं । यस्तो दुखद: र विडम्वनापूर्ण अवस्थाको अन्त्य हूनै पर्दछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हूनूका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डामूनि गोलवद्ध हून आव्हान गर्दछू । श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।

जय नेपाल ।