• Tuesday 28th , February 2017 | मङ्लबार, फाल्गुन १७, २०७३

जर्मनीका पूर्वराष्ट्रपति हर्सोगको निधन

बर्लिन, जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा आज निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहेका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिएका थिए ।

जर्मनीको बेभेरिया राज्यको ल्यान्डसट भन्ने स्थानमा सन् १९३४ अप्रिल ५ मा जन्मिएका हर्सोग सन् १९९४ मा राष्ट्रपति पदमा निर्वाचित हुनुपूर्व जर्मनीको सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा कार्यरत थिए ।

म्युनिख विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासील गरेका हर्सोगले केही वर्षसम्म दक्षिण–पश्चिमी जर्मनीको बाडेन–वेर्टम्बर्ग राज्यको संस्कृति मन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए । स्वर्गीय हर्सोग आफ्नी दोश्रो पत्नी अलेक्ज्यान्ड्रासँग बस्दै आएका थिए।