• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

एमाले बैठकमा सनसनीपूर्ण खुलासा: वैशाखदेखि सशस्त्र संघर्ष थाल्ने योजना ‘रअ’को योजना

काठमाडौं- कहिले रक्षा र कहिले गृहजस्ता संवेदनशील निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण कागज देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ? त्यस्तै भयो शनिवार एमाले स्थायी समिति बैठकमा ।

ललितपुरको भैसेपाटिस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा साँझ ढल्दै गर्दा खानपिनसहित आयोजित शीर्षस्थ नेतृत्वको वैठकबीच अर्का उपाध्यक्ष भीम रावलले सबै सशंकित हुने सूचना पस्किएका हुन् ।

चीन र पाकिस्थानसँगको लडाइँ, बंगलादेशको जन्म र सिक्किम विलयमा ‘रअ’ को संलग्नतासम्बधी आरके यादवको ५४३ पेज लामो पुस्तक ‘मिसन र’ का केही अध्यायको फोटोकपी देखाउँदै रावलले नेपाललाई छिन्नभिन्न पार्न भारतीय खुफिया एजेन्सी त्यसरि नै सूक्ष्म ढंगले परिचालित हुन थालेको रिपोर्टिङ गरेका थिए ।

वैशाखदेखि सशस्त्र संघर्ष थाल्ने योजना

उनका अनुसार मधेसका सशस्त्र समूहको हालै पटनाम भेला सम्पन्न भई माघ–फागुनभित्र हतियार स्वदेश भित्र्याउने र वैशाखदेखि सशस्त्र संघर्ष थाल्ने योजना छ । रावलले यो पनि भने– ‘सिके राउतले मधेसी दलसमक्ष हामीलाई पनि अलि–अलि मिल्नेगरी एजेण्डा सेटिङ गरिदिनुस् । तपाईहरु फ्रन्ट लाइनमा बसेर हामीलाई व्याकअपका रुपमा प्रयोग गर्नुस् भन्ने सन्देश पठाएका छन् ।’

विमलेन्द्र निधि भारतको अत्यन्त निकट रहेको र मधेसी दलप्रति पूर्ण सहानुभुतिशील देखिएको अनि यही वेला उनको गृहमन्त्रीत्व कालमा देश विखण्डनको यसखाले योजनासमेत अघि बढ्न लागेको रावलले जानकारी दिए ।

‘भारतले विभिन्न क्षेत्रवाट हस्तक्षेपका डिजाइन तयार गर्दै छ । राष्ट्रियतामाथि खतरा बढेको छ । यसबारे हामी होशियार रहनुपर्छ । पहिला पनि मधेसीका माग संबोधन गर्ने नाममा सविधान संशोधन भएकै हो ।’

रावलले थपे– ‘त्यतिले तिनको चित्त बुझेन । अहिले ५ नम्बर प्रदेश टुक्य्राउने प्रस्ताव दर्ता गरेका छन् । यो सकेर पूर्व र सुदूरपश्चिममा याजनावद्घ रुपले हात हाल्नेछन् । ‘मिसन र’ का प्र्रसंगहरु को पुनर्पुष्टि हुनेगरी गतिविधि बाक्लिएका छन् ।’