• Saturday 29th , April 2017 | शनिबार, बैशाख १६, २०७४

यसरी मनाइयो पृथ्वी जयन्ती, राष्ट्र निर्माताको सालिकमा १०८ मिटर लामो माला

काठमाडौं,पुस २७- पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान १०८ मिटर लामो माला चढाएको छ ।

विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए । आ-आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । कार्यक्रमका कारण यातायात आवागमन प्रभावित भएको थियो ।

कसले के भने ?

सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नेहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले हामी नेपाली भएर बाँच्न पाएको धारणा राखे। मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै उनले पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप सार्वजनिक बिदा नदिनु उचित नभएको बताए।

यस्तै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाए।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए । शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे ।

तस्वीरहरु हेर्नुहोस