• Tuesday 23rd , May 2017 | मङ्लबार, जेष्ठ ९, २०७४

मध्यरातमा निवासबाट लोकमानको वहिर्गमन, गेट्मै प्रदर्शनको तयारी


काठमाडौं, सर्वोच्च अदालतद्धारा अयोग्य घोषणा गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्की वुधवार राती ११ ः०० बजे टङ्गालको रातो घर छोडेर आफ्नो निजी निवासमा फर्कने वताइएको छ ।

निलम्वन गरिएको लामो समयसम्म पनि सरकारी निवास नछोडेका उनलाई अदृष्य शक्तिको आशिर्वादमा अझै पुनर्वाहली हुने आशा वाँकी नै थियो ।

राजनीतिक पार्टीहरुले संसदमा उनी विरुद्ध महाअभियोग प्रस्ताव लिएपनि त्यसलाई कार्यान्वयन संसदका लागि फलामाको च्युरा झैं बनेको वेलामा सर्वोच्च अदालतले न्यायिक निर्णय मार्फत दलहरुको गलगाँड वनेको उक्त विवाद किनारा लगाइदिएको छ ।

अदालतबाट अयोग्य घोषणा गरिएको झण्डै एकसाता पछि मात्रै उनी रातोघरबाट सुनसान मध्यरातमा वाहिरिदै आफ्नो निवास लाग्ने सोचमा पुगे । लोकमानको मुद्दा अदालतले टुंगो लगाइदिएपछि लामो श्वास फेर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राहतको महशुस गरेका छन् ।

आफैले नियुक्त गरेका लोकमानले लडाकु रकमको मुद्दामा दाहाल भारत गएका बेला फाइल झिकेर व्ल्याक मेलिङ गरेपछि सबैभन्दा वढी माओवादी केन्द्रका नेताहरु झस्किएका थिए ।

छानविनका लागि कार्की निलम्वनमा परेकै बेला उनले राजनीतिक पार्टीको बस्त्रसमेत उतारीदिने धम्की दिएका थिए, तर सबैभन्दा समय वलवान हुने भएकाले अब उनी कसैको बस्त्र उतार्ने हैसियतमा छैनन् किनकी अदालतले उनको बोक्रा उतारिसकेको छ ।

तर विश्वसनिय सुत्रका अनुसार उनले वर्तमान सत्तारुढ गठवन्धनका एक महत्वपूर्ण पात्रलाई मधेशका नाममा सिमित व्यक्तिका कुरामात्र नसुनि काठमाडौ र मधेशका जनताका कुरा सुन्नुपर्ने धारणा राखेपछि उनी राजनीतिमा समेत सुझाव दिन थालेको भन्दै उनलाई वोक्ने अदृष्य शक्तिले छोडेको र त्यसपछि उनको दुर्दशा सुरु भएको हो ।

यदि लोकमानले अहिले ११ः ०० बजे नै टंगालको रातो घर छोडेमा उनी विरुद्ध प्रदर्शन हुनसक्ने स्रोतको दावी छ । तर लोकमान निकट सुत्रले भने उनले आजराती नै घरखाली गर्ने कुरा अझै निश्चित नभएको वतायो ।