• Thursday 30th , March 2017 | बिहिबार, चैत्र १७, २०७३

पोखरेल दोस्रोपटक प्राधिकरणको सिइओ

काठमाडौं, सरकारले प्रा.डा. गोविन्दप्रसाद पोखरेललाई पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवालीलाई बर्खास्त गर्दै पोखरेललाई दोस्रोपटक सिइओ नियुक्त गरेको हो ।

ज्ञवालीलाई दुईपटक स्पष्टीकरण सोधे पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठकले उनलाई हटाउने निर्णय गरेको हो । नवनियुक्त सिइओ पोखरेलले बुधबार नै कार्यभार सम्हालेका छन् ।

पोखरेल पहिलोपटक २८ साउन ०७२ मा प्राधिकरणको सिइओ बनेका थिए । सुशील कोइराला नेतृत्वमा बनेको तत्कालीन सरकारले योजना आयोगका उपाध्यक्ष रहेका पोखरेललाई नै सिइओको जिम्मेवारी दिएको थियो । त्यसवेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेशअन्तर्गत प्राधिकरणले काम गरेको थियो भने पोखरेल सिइओ बनेका थिए । तर, सरकारले समयमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रतिस्थापन विधेयक संसद्बाट पारित गर्न नसक्दा प्राधिकरण निष्क्रिय भयो भने पोखरेल पनि सिइओबाट बाहिरिएका थिए ।

प्राधिकरण ऐनअनुसार पोखरेलले करिब तीन वर्ष ११ महिना १५ दिन सिइओको रूपमा काम गर्नेछन् । प्राधिकरणको सिइओको कार्यकाल पाँच वर्ष हुन्छ । तर, सरकारले पहिलोपटक नियुक्त भएका सिइओ हटाएर दोस्रो नियुक्त गर्नुपरेमा बाँकी अवधिका लागि मात्रै सिइओ बनाउन सक्ने व्यवस्था छ । १० पुस ०७२ मा सिइओ भएका ज्ञवालीले १ वर्ष १७ दिन सिइओका रूपमा काम गरे ।

सरकारले १४ पुसमा पहिलोपटक ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले २० पुसमा त्यसको जवाफ दिएका थिए । तर, २१ पुसको मन्त्रिपरिषद्को बैठकले उनीसँग दोस्रो स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले गत आइतबार दोस्रो जवाफ बुझाएका थिए । दुवैपटकको स्पष्टीकरणमा उनले आफूलाई कुनै पनि कारणले हटाउन नमिल्ने जवाफ दिएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।