• Wednesday 25th , January 2017 | बुधबार, माघ १२, २०७३

पृथ्वीजयन्तीको बिदालाई लिएर प्रधानमन्त्रीसँग राष्ट्रपति रुष्ट

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट भएकी छन् ।  पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा नदिइएकामा राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेको शीतलनिवास स्रोतले जनाएको छ ।

केही दिनअघि राप्रपा प्रमुख सचेतक दीलनाथ गिरी नेतृत्वको टोलीले राष्ट्रपति भण्डारीलाई भेटी पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय एकता दिवस मनाउन सरकारलाई दबाब दिन आग्रह गरेको थियो ।

राष्ट्रपतिले बिदाबारे सरकारले निर्णय गर्ने भन्दै त्यसका लागि आफूले सुझाव दिने बताएकी थिइन् । राष्ट्रपतिको सन्देश बालुवाटार पुगे पनि सार्वजनिक बिदा भने दिइएन ।

यद्यपि बुधबारको मन्त्रिपरिषद बैठकले बिदाबारे अध्ययन गर्न एक समिति गठन गरेको छ ।