• Thursday 23rd , March 2017 | बिहिबार, चैत्र १०, २०७३

‘अर्घाखाँचीबाट पोखरा टाढा भए सुरुङ मार्ग बनाइदिन्छौँ’-उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने बताएका छन् ।

बिहीबारदेखि सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सवको उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धिखर्कमा आएका नेता शर्माले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा प्रदेश विभाजन जनताको चाहनाअनुसार नै भएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिएका हुन् ।

निर्वाचनमा जान एमालेसँग सहमति भइसक्यो
उर्जामन्त्री शर्माले एमालेसँग संविधान संशोधनको बिषयमा मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति भएको बताए  ।

उनले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मत हालेर प्रक्रियामा गई टुंगाउने र छिटो भन्दा छिटो सहमतिमा निर्वाचनको मिति तोक्ने सहमति भएको बताए ।

‘सबै राजनीतिक दलहरुसँग सहमतिद्वारा मिति तोक्न सरकारले प्रयत्न गरिरहेको छ, विवादका बिचबाट एउटा सहमतिका बिचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागि सहमतिमा संसद खुलेको छ’ उनले भने ।

नेपाललाई नै लोडसेडिङ मुक्त बनाउने
उनले देशभरि नै लोडसेडिङ अन्त्य गर्ने गरी उर्जामन्त्रालय लागि परेको बताए । अहिले काठमाडौंसहितका शहरहरुमा लोडसेडिङ मुक्त भएको उनको भनाई छ ।

अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सञ्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको सारदा, उत्तरगंगा, अरुण तमोर, बुढीगण्डकी लगायतका परियोजनालाई अगाडी बढाउने गरी काम भइरहेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले सबै क्षेत्रलाई समेटेर लैजाने गरी संविधान संशोधनको प्रस्ताव दर्ता भएको बताए । मन्त्री शर्माले नेपाललाई लोडसेडिङ मुक्त बनाउन जनताको साथ र समर्थन पाएको पनि सुनाए ।