• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का मंसिर ४ र ५ गते पोखरामा प्रदर्शन हुने

पोखरा, विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा मंसिर ४ र ५ गते पोखरा रंगशालामा आयोजना गरिने थान्का प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको हो ।

शनिबार मध्याह्न १२ बजेदेखि प्रदर्शनी खुल्ला हुनेछ । त्यसअघि  बिहान १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजा सहितको र्याली निकालिने घर्तीले जानकारी दिए । थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा वाटीकाका प्रमुख स्याङपा रिम्पोछेबाट बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरिनेछ । सो अवसरमा नेपाल र जापानको झण्डा प्रदर्शन गरिने छ ।

buddha-thanka

विश्वकै सबैभन्दा ठूलो सत्तरी मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क (कपडालाई काटेर टालेको) थान्का निर्माण भएको पोखरामा थान्का प्रदर्शन मूल आयोजक समितिका संयोजक पानबहादुर घर्तीले जानकारी दिए । थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिने भएको छ ।

उद्घाटन कार्यक्रममा लामा गुरुसहित सहभागिहरुले थान्कालाई चारैतिरबाट छोएर विश्व शान्तिको कामना गर्दै मन्त्रोच्चारण गरिने बताइएको छ।मंसिर ११ र १२ गते उक्त थान्का गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रदर्शनी गरिने भएको छ ।

उक्त प्रदर्शनी हुने थान्काको तौल १९०५ केजी रहेको बताइएको छ । सो थान्कामा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको जीव्नचक्रलाई चित्रित गरिएको छ । यसअघि सन् २०१२ को अक्टुवरमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शन गरिएको थियो  ।