• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

पुनर्निर्माण पश्चात बाैद्धनाथ चैत्य सर्बसाधारणका लागि अाजबाट खुल्ला गरिने

 काठमाडौं, गत वर्षको वैशाखमा आएको भूकम्पबाट भएकाे क्षतीका कारण प्रतिबन्ध लगाइएकाे बाैद्धनाथ चैत्य पुनर्निर्माण पश्चात बौद्धनाथ क्षेत्र विकास समितिले  सर्वसाधारणको दर्शनका लागि मंगलबारबाट खुला गर्ने भएको छ । करिब २३ करोड रूपैयाँको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएपछि चैत्य सर्वसाधारणकाे दर्शजका लागि खुला गरिएकाे जनाएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको भोलि प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिए।

boudha

सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताए । उक्त कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ ।

चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आइतबार राति प्राणप्रतिष्ठा गरिएको छ । जीर्णोद्धारका क्रममा नजानेर अन्जानमा भएका त्रुटिबाट मुक्त हुनका लागि क्षमादान गर्दै प्राणप्रतिष्ठा गरिएको उक्त कार्यक्रममा महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुद्वारा विधि विधानपूर्वक विशेष पूजा गरिएको थियो ।

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरुले शान्ति पाठसमेत गरेका थिए । प्राणप्रतिष्ठाको प्रक्रियापछि देवता चलायमान हुने विश्वासका साथ त्यसाे गरिने धर्मगुरूले जानकारी दिए ।