• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

अनेरास्ववियुमा चरम विवाद, उपाध्यक्ष लामाले ‘तेस्रो सर्कुलर’ ल्याउँदै

लामा भन्छन्- ‘सर्कुलर होइन, पर्चा हो’

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा यतिखेर आन्तरिक कार्यविभाजनको सन्दर्भलाई लिएर चरम विवाद देखिएको छ । महासचिव ऐन महरले अध्यक्ष नविना लामालाई समेत वाइपास गर्दै ल्याएको एकपक्षीय सर्कुलरका विरूद्ध माधव नेपाल पक्षले शुक्रबार छुट्टै अर्को सर्कुलर जारी गरेको थियो । तर ओली पक्षकै मानिएका अर्का उपाध्यक्ष शैलेस लामाले पनि छुट्टै सर्कुलर पठाउने घोषणा गरेका छन् ।

प्रस्तुत छ अनेरास्ववियु भित्रको विवादलाई लिएर उपाध्यक्ष शैलेस लामासंगको कुराकानीः

अनेरास्ववियु भित्रको अहिले देखिएको विवादको चुरो कुरो के हो ?

धुलिखेलमा बसेको प्रथम पुर्ण बैठकले गरेका निर्णयहरु, अखिलको स्थायी कमिटीमा पठाईएको म्याण्डेट अनुसार निर्णय भएका विषयहरु १० महिनासम्म सर्कुलरका रुपमा पठाउन आनाकानी गरियो । आज त्यतिवेलै सर्कुलरका नाममा भएका निर्णयलाई तोडमोड गरेर निर्णय नै नभएका कुराहरु समावेश गरी विधि-विधानको धज्जी उडाउँदै संगठनको अध्यक्षको समेत सहमति नलिई व्यक्तिगत ढंगले महासचिवले सर्कुलर जारी गर्न खोजेपछि अखिलमा विवाद देखिएको हो । त्यसैले संगठनको विधि मान्ने र नमान्ने अथवा संस्थागत निर्णयलाई मान्ने वा व्यक्तिगत निर्णय गर्न खोज्नेहरु विचको विवाद हो याे ।

संगठनभित्रकै अर्काे माधव नेपाल समुहद्धारा जारी गरिएको सर्कुलरबारे तपाईको धारणा के छ ?

संगठनको कार्यकारी ठाउँमा रहेकाहरुले नै संगठनको विधी-विधानको धज्जी उडाउँदै संस्थागत परिपाटीभन्दा बाहिर गएर विद्रोही शैलिमा उत्रिन खोजेपछि त्यो पक्षले पनि सर्कुलर ल्याउने कुरा र समानन्तर गतिविधि गर्ने कुरा अस्वभाविक मान्न सकिंदैन । तथापी उहाँहरु पनि संगठनले संस्थागत रुपमा गरेका निर्णयहरुमा सहमत नै हुनुहुन्छ भन्ने लाग्छ । असन्तुष्टहरुको मुख्य जोड व्यक्तिगत होइन की संस्थागत निर्णय हुनुपर्छ भन्ने हो ।

त्यसो भए तपाईहरुले ल्याउने तेस्रो सर्कुलर संस्थागत हुन्छ त ?
यो हाम्रो चाहना नभई वाध्यता हो । संगठनमा भएका विमतीहरुलाई अनेकौं पटक मिलाउने प्रयत्न गरियो तर प्रयास जारी रहँदा रहँदै साथीहरुले सर्कुलरका नाममा व्यक्तिगत पर्चा बाँडेर संगठनको मुल्य र मान्यता माथि धावा बोल्नु भयो । त्यस पश्चात हामी केही मन मिल्ने साथीहरु बस्यौं र निष्कर्श निकाल्यौं की, ‘नालीको फोहर यदि सफा गर्नुछ भने परबाट हेरेर आफैं सफा हुँदैन, फोहर सफा गर्न चाहनेहरु स्वयंम फोहोरमा पस्नुपर्दछ’ भन्ने तितो सत्यलाई आत्मसाथ गर्दै संगठनभित्रको अराजकतालाई अन्त्य गर्न र संगठनको मुल स्प्रिटलार्इ कायम राख्न अर्काे सर्कुलर जारी गर्दैछौं ।

स्ववियु निर्वाचन र मातृपार्टी स्वयंम आन्दोलनमा भएको बेला तपाईह?को आन्तरिक विवाद वेमौसमको बाजा भएन र ?

हो, यतिवेला हाम्रो ध्यान राष्ट्रिय राजनीतिमा भईरहेको वेथिती विरुद्ध नेकपा एमाले आन्दोलित भईरहेकै सन्दर्भमा केन्द्रित हुनुपर्ने थियो । साथै निकट समयमा हुने भनिएको स्ववियु निर्वाचन उन्मुख कार्यक्रममा अगाडि बढ्नुपर्ने थियो तर केही व्यक्तिको मनोमानी चरित्रका कारण संगठनको आन्तरिक मतभेद सडकमा छताछुल्ल हुनु निकै दुःखद छ । यद्यपी हामी आन्तरिक विवादको न्युनिकरण गर्दै पार्टीले गरिरहेको आन्दोलन र स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाउनेछौं ।

अन्तमा विवादको समाधान कसरी हुन्छ त ?
सवै साथीहरु संगठनको आधिकारिक विधानलाई आत्मसाथ गर्दै कार्यन्वयनमा लैजाने कुरामा एकमत छन् । सामान्यतया विधान भन्नेवितिकै यो संस्थामा अधिनस्थ मान्छेहरुलाई गाईवस्तु बाँधे जस्तै बाँध्ने दाम्लो हो । त्यसैले विधानमा टेकेर आगाडि बढ्ने हो भने विवादको समाधान टाढा छैन ।