• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव

काठमाडौं- अङ्ग्रजी नयाँ वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा १८ औं पोखरा सडक महोत्सव गरिने भएको छ ।

पोखरालाई नेपालसहित विश्व पर्यटन बजारमा थप परिचित गराउन पुस १३ देखि १७ गतेसम्म रेष्टुरेँट एण्ड वार एशोसिसयसन अफ नेपाल (रेवान) पोखराले महोत्सव गर्न लागेको हो । फेवाताल किनारको शहीदचोकदेखि खहरे डिहिकोपाटनसम्म साँढे तीन किलोमिटर क्षेत्रमा महोत्सव गरिने छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवका अवसरमा होटल र रेष्टुरेँटले दिने सेवामा १५ देखि २० प्रतिशत छुट दिने संयोजक भट्टराईले जानकारी दिए ।

हिमाल, ताल, गुफा, धार्मिकस्थल र पर्यटकीय सुन्दरताले विश्व बजारमै अग्रणी पर्यटकीय गन्तव्यका रुपमा चिनिएको पोखरामा हुने सो महोत्सवमा विविध खानाका परिकार, खेलकुद, सांस्कृतिक र मनोरञ्जनमूलक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्न यस्ता महोत्सवले योगदान पुर्याउने बताए ।