• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

यी बहादुर युवतीको हत्या गर्नेलाई दश लाख डलरको पुरस्कार

लण्डन- आतङ्कवादी सङ्गठन आईएसआईएस (इस्लामिक स्टेट) एक कुर्दिस-दानिस युवती जोआना पलानीको मूल्य १० लाख अमेरिकी डलर तोकेको छ । यी बहादुर युवतीको हत्या गर्नेलाई आईएसले १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको हो ।

सन् २०१४ मा आतङ्कवादीसँग लड्नैका लागि विश्वविद्यालको पढाई समेत त्यागेकी जोआना अहिले आईएसको सर्वाधिक खोजीको सूचीमा छिन् ।

बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार जोआना पलानी यसबेला जेल जीवन बिताइरहेकी छन् । जुन, २०१५ मा यात्रामा प्रतिबन्ध लगाइएपछि देश छोडेको अभियोमा उनी कोपेनहेगनमा आफूमाथिको आरोपको सामना पनि गरिरहेकी छन् ।

उनीविरुद्धको सुनुवाइ मङ्गलवार भइरहेको छ। यदि जोआना दोषी पाइन् भने उनीमाथि डेनमार्कबाट मध्यपूर्वसम्म आईएस आतङ्कवादीलाई आउन जान रोक्नका लागि बनाइएको नयाँ कानुन अनुसार दुई वर्ष कैद सजाय हुनेछ । त्यसो त जोआनाको डेनमार्कमा वापसीलाई लिएर अनलाइनबाट पनि र अफलाइन (वास्तविक विश्व) बाट पनि धम्की आइरहेको छ ।

समाचारपत्रले अरबी सञ्चारमाध्यमलाई उधृत गर्दै जनाए अनुसार आईएसआईएसको सामाजिक सञ्जाल च्यानलबाट यसै साताको अन्त्यमा प्रसारित सन्देशमा जोआना पलानीको हत्या गर्नेलाई १० लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा कयौँ भाषामा आएको छ ।

जोआना पलानीले अघिल्लो साल पुलिसले आफ्नो राहदानी जफत गरेपछि तत्कालै प्रतिक्रिया दिँदै फेसबुकमा लेखेकी थिइन्, ”म कसरी डेनमार्क या कुनै अरू देशका लागि खतरा बन्न सक्छु । जबकि म आफैँ आधिकारिकरुपमा त्यस सेनाको एउटा सदस्य हुँ, जसलाई डेनमार्क नै (आईएसआईएसविरुद्ध) लड्नका लागि प्रशिक्षित गर्दछ र समर्थन पनि दिन्छ….।”

इरानी कुर्दिस्तानमा सम्बन्ध राख्ने परिवारकी जोआना पलानीको जन्म पहिलो खाडी युद्धका क्रममा इराकको रमादीस्थित एक शरणार्थी शिविरमा भएको थियो । उनको परिवारले उनी सानै हुँदा डेनमार्कमा शरण लिएको थियो ।

जब सन् २०१४ मा आईएसआईएस ह्वात्तै फैलियो तब त्यस समूहविरुद्ध कुर्दिस आन्दोलनमा लागेर जोआना पलानीले राजनीति विषयको पढाई बिचमै छाडिदिएकी थिइन् ।

उत्तरी सिरियामा कुर्दिश पिपल्स प्रोटेक्सन युनिट (वाईपीजी) तथा इराकमा पेसमेग्रा फौज दुवैतर्फबाट आईएसविरुद्ध उनले युद्ध लडेकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा गरिएको एक पोस्टमा जोआना पलानीले लेखेकी थिइन्, ”महिला अधिकार, लोकतन्त्र तथा दानिस युवती भएकाले युरोपियन मूल्य मान्यताबाट सिकेर तिनीहरूका खातिर लड्नका लागि मलाई प्रेरणा मिलेको थियो ।”