• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

नेपाल बायुसेवाको नयाँ एयरबस यसै वर्ष

काठमाडौं, नेपाल वायुसेवा निगमको नयाँ एयरबस २०७४ अगावै काठमाडौं आइपुग्ने भएको छ ।वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको भएतापनि एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई निगमको प्राविधिक समितिले सञ्चालक समितिमा सिफारिस गरेको छ । सञ्चालक समितिले सिफारिसको आधारमा निर्णय गरे निगमले खोजेभन्दा पनि नयाँ जहाज पाउने देखिएको छ ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खालेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

जसमध्ये एएआरले सबैभन्दा सस्तोमा नयाँ विमान उपलब्ध गराउने प्रस्ताव ल्याएको वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले जानकारी दिए । कंसकारले भने ‘हामीले एक हजार घन्टासम्म उडेको भएपनि मान्य हुने भनेका थियौ तर, एएआर कम्पनीले नयाँ जहाज सस्तोमा उपलब्ध गराउने प्रस्ताव ल्याएको छ ।’

उनका अनुसार पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायुसेवा निगमलाई बेच्न लागेको छ ।

वायुसेवा निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । एएआरले भने करिव ११ अर्ब २८ करोडमा जहाज उपलब्ध गराउने प्रस्ताव पेश गरेको छ ।एएआरले यही चैतसम्ममा विमान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ ।