• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

रेफ्रीमाथि खेलाडीको मुक्का प्रहार,तीन खेलाडीलाई एक वर्षे प्रतिबन्ध

इटहरी, रेफ्रीमाथि हातपात गरेपछि नेपाल भलिबल संघले तीन खेलाडीमाथि एक वर्षे प्रतिवन्ध लगाएको छ ।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच सेमिफाइनल खेलका क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्री विनय राईमाथि आक्रमण गरेका थिए ।

रेफ्रीमाथि हातपात र खेलभावना विपरित लगतिविधि गरेको आरोपमा पश्चिमाञ्चल भलिबल टोलीका लोकेन्द्र भण्डारी, राजन थापा, रमेश केसीमाथि संघले गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी एक वर्षे प्रतिवन्ध लगाइएको छ ।

खेलका क्रममा एक सेट पश्चिमाञ्चलले जितेको थियो भने दुई सेट आर्मीले आफ्नो पक्षमा पारिसकेको थियो ।चौथो तथा निर्णायक सेटमा पनि चौथो आर्मीले २१–११ को अग्रता लिइसकेको थियो ।

पूर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष विश्वराज धिमालका अनु्सार खेलमा पछि परेको अवस्थामा पश्चिमाञ्चलका खेलाडीहरुले खेल भावना विपरित गतिविधि गर्न थाले ।

खेल आर्मीले जितेपछि हात मिलाउने क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्रीमाथि नै मुक्का प्रहार गरेका थिए। भोलिको फाइनलमा भने दुबै पक्षलाई कागज गराएर मात्र खेलाइने सुनसरी भलिबल संघका लेखनाथ पराजुलीले जानकारी दिए ।