• Tuesday 27th , June 2017 | मङ्लबार, असार १३, २०७४

मुलुकको नेतृत्व लिन यस्तो व्यक्ति योग्य हुनसक्छ

पुष्प न्यौपाने
अब मुलुकको नेतृत्व लिन नेपालको इतिहासकै एक योग्य व्यक्तिको जरुरी छ । तहस नहस भएको मुलुकको विद्यमान संरचनालाई सनातनी व्यवस्था र यस ब्यवस्थाको प्रतिनीधित्व गर्ने वर्तमान शासकहरुहरुबाट पुनरसंरचना असंभव छ ।

राष्ट्रको नेतृत्व लिने व्यक्ति संसदीय निर्वाचनबाट आउने र त्यसले अग्र गति दिने कुरा नेपालको हकमा असफल सिद्ध भयो । एउटा मुलुकको जीवनमा २५ बर्ष लामो परिक्षणमा जे असफल देखियो त्यहि भारी वोकिरहने कुरा असान्दर्भिक छ ।

यो आमनागरिकले वोध गर्नुपर्ने वेला हो । गएका २५ बर्षमा नेपालले, आफ्नो आत्मनिर्भरता, मौलिकता, सभ्यता, स्वाभिमान र एक इमान्दार पहिचान गुमाइसकेको छ । हिमाल देखि तराई विदेशीको ऋण, अनुदान र दयामायाको भिखको प्रतिक्षामा छ, राष्ट्र अगाडिको मगन्ते प्रवृत्ति सबैभन्दा खतरानाक हो ।

यसले पौरख, गौरब, स्वाधिन र स्वाभिमानि प्रवृत्तिमा निकै ठूलो विचलन ल्याएको छ । संसारका बहादुर सेनाको सुचिमा रहेको नेपाली सेना अपमानित र प्रताडित वनेको छ ।

गएको ७० बर्ष यताको उथल पुथल र उतार चढाव राजनीतिक व्यवस्थामा नेपाली सेनालाई कहिल्यै भारतीय कमाण्डरको मातहतमा, कहिल्यै भारतबाट मात्रै हातहतियार खरिद गर्न पाउने, कहिल्यै भारत मार्फत मात्रै व्रिटीस गोर्खा भर्ति खोलिनु पर्ने, कहिल्यै भारतसंग मात्रै संयुक्त युद्ध अभ्यास गर्न पाउने, कहिल्यै भारतीय मातहतमा रहेर नेपाली सेना शान्ती मिसनमा पठाउनुपर्ने जस्ता तमाम टर्चर दिइयो ।

राजनीतिक नेतृत्वले नेपाली सेनको गौरवपूर्ण इतिहासको जिम्मा कहिल्यै लिएन । नेपाली सेनालाई उच्च मनोवलका साथ प्रविधिलैस गराइएन, प्रविधि विकासको नीतिगत निर्णय गराइएन । सिमित स्रोत साधनमा कैंद गरियो । हरेक व्यवस्था परिवर्तन पछि आउने नेतृत्वले नेपाली सेनाले लडेर कुन भु भाग वचाएको छ ? यो सेनाले कहिले लडाई लडेको छ ? आदि इत्यादिले मान मर्दन गरियो ।

तर कुन शासकले कुन मुलुकसंग लडाईको प्रस्ताव गर्यो ? वा युद्धका लागि तयार भयो र सेनाले त्यस प्रस्तावलाई अस्विकार गर्यो ? यो विषय अझ महत्वपूर्ण हो । लम्पसारवादी राजनीतिक नेतृत्वले हर समयमा सेनाको संख्या कटौती, निशस्त्रीकरण, हतियारको आवश्यकता किन ? जस्ता कुराले एकहोरो टर्चर गर्यो । सेनालाई कहिल्यै सिमा सुरक्षाको जिम्मा दिइएन ।

भनिन्छ हामी अप्ठ्यारो भु राजनीतिमा छौं हामिले कसैलाई लडेर जित्दैनौ त्यसैले सेनाको खर्च वढाउन जरुरी छैन । हामी शान्तीको प्रस्तावक हौं । यो सब वेकार कुरा हो । चीनको हिस्सा ताइवान जसलाई संसारमा सैन्य सामरिक मुलुकहरुको सुचिमा राखिन्छ ।

शान्तीको प्रस्ताव अस्विकार र असफल भइसकेपछि हामीलाई हाम्रो स्वाधिनता जोगाउन आणविक अस्त्र जरुरी छ भनेर संयुक्त राष्ट्रसंघलाई भन्न किन नसक्ने । हाम्रो वरिपरिका सम्पूर्ण छिमेकी मुलुकहरु परमाणु शक्ति सम्पन्न भएको वेला एउटा मात्रै भएपनि हामीले प्रतिरक्षाका लागि परमाणु हतियार विकासका लागि कोसिश किन नगर्ने ?

नेपाली सेनाले एक्लै वा विश्वका अन्य कुनै देश संग मिलेर आधुनिक हतियारको निर्माण, विकास र विस्तार किन नगर्ने ? थोत्रा हतियार, दुनियाले फेज आउट गरेका हतियार वोकेर आजको स्याटेलाइटको युगमा नेपाली सेनालाई किन पोष्टमा दिनभरी उभ्याएर औपचारिकता पुरा गर्ने ?

यदि संसारले हतियार र सेनामा मात्रै आफुलाई सुरक्षित ठान्छ भने, संसार हर घडिमा आफुलाई असुरक्षित महसुस गर्छ भने नेपालले सेना र हतियारमा किन जोड नगर्ने ? सैनिक शासनका लागि कहिल्यै प्रयास नगरि अनुशासनमा रहेर हरेक राजनीतिक परिवर्तनलाई सहजतापूर्वक स्विकार गर्नुलाई कमजोरीका रुपमा लिनु,त्यसको अण्डर स्टमेट गर्नु राजनीतिक नेतृत्वको वुझाईमा रहेको ठूलो समस्या हो ।

राष्ट्रसंघलाई एक पटक दिएको वाचा बह्माण्ड रहेसम्म परिवर्तन गर्नु हुँदैन भन्ने के छ र ? त्यसकारण अव मुलुकको नेतृत्व लिन तयार हुने शक्ति र सेना वीच नेपाललाई स्वाधिन र समृद्ध वनाउने कुरामा सहमति हुन जरुरी छ । नेपाली सेनाको आधुनिकीकरण विना मुलुक कुनै पनि वेला खतरामा पर्न सक्ने संभावनालाई वेवास्ता गरिनु हुँदैन ।

बरु नागरिकलाई सैन्य तालिम दिने र मुलुकलाई आवश्यक पर्दा सेनालाई सहयोग गर्ने वातावरण वनाउन जरुरी छ । बरु सेना भित्र खाल्डो खन्ने र पुर्ने समयलाई प्रविधि विकास र देश विकासमा उपयोग गरिनुपर्छ । सेना भित्र दुई उत्पादन डिभिजन बनाए हुन्छ । एक प्रविधि उत्पादन र अर्को विकास तथा कृषि उत्पादन डिभिजन ।

मुलुकको कुनै टुक्रा जमिन वाँझो नराख्ने र सैन्य खर्च लाई प्रविधि इन्जिनियरिङमा समेत उपयोग गर्दै राष्ट्रको अस्तित्व रक्षा र आफ्नो व्यवशायिक क्षमता अभिवृद्धि गर्दै विश्वमा शानकै साथ रहने गरि अघि वढ्नुपर्छ ।

विश्व यतिवेला चरम अन्धराष्ट्रवादमा फर्किएको छ । युरोपियन युनियनबाट बेलायत अलग्गीनु, संसारकै नेतृत्व गरेको अमेरिका उदारबादको विराट सोचबाट टिपिकल अमेरिकनपक्षिय ट्रम्पको विचारमा साँघरिनु, रुसमा पुटिनको उदय हुनु, भारत र पाकिस्तानको नेतृत्व एवं गतिविधि,चीनमा सि जिन पिङको महत्वाकाँक्षी राष्ट्रबाद, इजरायलमा नेतान्याहुको अडान सबै घटनाक्रमले यहि देखाएका छन् ।

यस अन्धराष्ट्रवादको युगमा हामीले आफुलाई उदारताको वेलुनमा उडाउने कोसिश गर्यौ भने हाम्रो अस्तित्व अरुले खाइदिन सक्छन् । सारा विश्व हतियार र वल प्रयोगको सिद्धान्तबाट अस्तित्व निर्माणको संघर्षमा रहँदा हामी सिभिलियनको वुद्धिविलास र तर्कवादमा रम्यौ भने विरालोको पन्जा अघि मुसाको हालत हुन्छ ।

यसको अर्थ हामी अन्धराष्ट्रवादमा फर्किने र कसैसंग युद्ध गरिहाल्ने अनि अरु सबै संरचनामा हलचल नगरि सैन्य संरचनालाई मात्रै सक्रिय वनाउने भन्ने होइन । प्रतिरक्षाका लागि तयार रहन र नयाँ व्यवस्थाद्धारा जनतालाई पनि एकाकार गर्दै अगाडि वढाउन जरुरी छ ।