• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

‘अर्थवाद, अवसरवाद र अनुशासनहिनता परास्त नगरी हुँदैन’- मोहन कुमार घिमिरे

नेकपा एमाले निकट आधिकारिक ट्रेड युनियन ‘नेपाल निजामती कर्मचारी संगठन’को जीवनसँग अन्तरंग गाँसिएको नाम हो, मोहन कुमार घिमिरे। केही दिनअघि नेपालगञ्जमा सम्पन्न भएको संगठनको १० औं अधिवेशनमा एकदमै झिनो मतान्तरले पराजय भोग्नुपरे पनि संगठनमा आफ्नो नेतृत्वकालमा उठाएका निजामती कर्मचारीहरुका हितका एजेण्डाहरु कार्यान्वयनको सवालमा निरन्तर लागिरहने घिमिरेको जोड छ ।

प्रस्तुत छ, नेपालको निजामती सेवामा निजामती ट्रेड युनियनहरुको भूमिका, ट्रेड यूनियन आन्दोलनका उपलब्धीहरु, संगठनको सम्पन्न चुनाव र भूमिकाको सन्दर्भमा केन्द्रित रही ‘नेपाल निजामती कर्मचारी संगठन’का निर्वतमान अध्यक्ष मोहन कुमार घिमिरेसंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको समसामायिक कुराकानीः–

नेपालको निजामती सेवालाई व्यवस्थित गर्न खासमा निजामती ट्रेड युनियनको भूमिका के हो ?
निजामती सेवा जनताको नजिकको भरोसा बन्न सकेन भन्ने गुनासोलाई न्युनिकरण गर्न, संविधान कार्यान्वयन, संघियता व्यवस्थापन र आगामी स्थानीय निकायको निर्वाचन लगायतका निर्वाचनहरुको प्रभावकारी व्यवस्थापनमा निजामती क्षेत्रमा क्रियाशिल ट्रेड युनियनको भूमिका महत्वपूर्ण छ । त्यस्तै, कर्मचारीको सामाजिक सुरक्षा वैज्ञानिक बनाउने, कर्मचारीको कार्यस्थलको सुरक्षा व्यवस्थापन गर्ने, जनताका गुनासालाई शून्यतामा झार्ने र ट्रेड युनियन आफैं पनि लोकतान्त्रिक र व्यवस्थित गर्ने , ट्रेड युनियनको आन्दोलनभित्र देखिएका असहजता, अवसरवाद र अर्थवादी चिन्तनहरुलाई परास्त गर्नुपर्ने विषय अबको निजामती क्षेत्रको ट्रेड युनियनको आन्दोलनको नयाँ गोरेटो कोर्ने विषय हो ।

हालसम्मको ट्रेड युनियन आन्दोलनबाट हासिल भएका उपलब्धिहरु के–के हुन् ?
गुनासो सुनुवाईको प्रभावकारी संयन्त्र नै ट्रेड युनियन बनेको छ । ‘आवाज बिहिनहरुको आवाज’ ट्रेड युनियनहरुले बोलिरहेका छन् । मानव अधिकार, लोकतन्त्र र शान्तिको पक्षमा निरन्तर क्रियाशिल छन् । राजनैतिक संक्रमणलाई चाँडै अन्त्य गर्नका लागि खबरदारी गरिरहेका छन् । निजामती अस्पताल, उच्च शिक्षा छात्रवृत्ति योजना, बढुवा व्यवस्थापन, निजामती आवास गृह, असाध्य रोग लागेका कर्मचारीको उपचार, सरुवालाई वैज्ञानिक र पूर्व अनुमानयोग्य बनाउनका लागि दबाब सिर्जना, सामाजिक सुरक्षा र जिविकोपार्जन योग्य तलब भत्ता निर्माण गर्ने विषय नै हालसम्मका ट्रेड युनियनका गतिविधि र क्रियाशिलताले प्राप्त गरेका उपलब्धि हुन् ।

भर्खरै सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशनले उठाएका मुद्दाहरुबारे बताई दिनुहोस न ?
भर्खरै सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशले मुलुकको ट्रेड युनियन आन्दोलनलाई कसरी व्यवस्थापन गर्ने भनेर निष्कर्ष निकालेको छ । नेपाल निजामती कर्मचारी संगठनलाई आगामी १० वर्षसम्म कुन बाटोमा लौजाने भन्ने दीर्घकालीन रणनीति तय गरिएको छ । संगठनप्रतिको आर्कषण जगाउनका लागि सदस्यता नविकरणसँग विमा योजनालाई पूर्ण कार्यान्वयनमा लगिएको छ ।

नेगो एप्स, राष्ट्र सेवक हाइड्रो पावर, स्थापना गरिएका सहकारीहरुको एकिकृत लगानी, संघीयतामा कर्मचारी बाँडफाँड र कर्मचारी व्यवस्थापन, संक्रमणकालको चाँडै अन्त्य गर्नका लागि अर्थपूर्ण खबरदारी गर्ने विषय, संगठनभित्रको संस्थागत शुशासन कायम गरिने विषय, १० औं राष्ट्रिय अधिवेशनका निष्कर्ष र फैसला हुन् । मेरो नेतृत्वमा निकालिएका यिनै निष्कर्षहरुका आधारमा मुलुकको निजामती क्षेत्रको ट्रेड युनियन आन्दोलनले दिशा निर्देश गर्नेछ । यो मेरो विश्वास हो ।

यसरी दीर्घकालीन नीति निर्माण गर्ने नेतृत्व कसरी चुनावमा पराजय हुनुपर्यो त ?
नीति निर्माण र नेतृत्व निर्माण हाम्रो जस्तो अल्पविकसित मुलुकमा अलि तालमेल नमिल्ने रहेछ । ८० हजार कर्मचारीको नेता हुन चाहनु र केवल ४ सयको नेतृत्व गर्ने विषयवीच तालमेल नहुँदा चुनावमा पराजय भोग्नुपर्यो । तर, मैंले यसलाई अन्यथा लिएको छैन। संगठनमा मैले उठान गरेका मुद्दाहरुमा नै क्रियाशिल रहने छु । तर, चिन्ता के विषयमा हो भने संस्थागत निर्णयका विरुद्धमा जुन अराजकता र अनुशासनहीन शैली मूल नेतृत्वले नेपागञ्जमा प्रर्दशन गर्यो त्यो संगठनको भविष्यमा नदोहोरियोस् भन्ने हो ।

पार्टी नेतृत्व नै एउटा पेशागत संगठनको अधिवेशनमा यति तल्लो स्तरको हर्कत र गुटबन्दीमा ओर्लिएला, यो मैंले परिकल्पना नगरेको विषय थियो । प्रतिनिधिहरुलाई राजनीतिक, सामाजिक र आर्थिक प्रभावमा पारिएका थुप्रै घटनाहरु तथ्यको रुपमा आइरहेका छन् । समुद्घाटन शत्रमा हललाई कब्जामा लिएर स्वयम् आधिकारिक ट्रेड युनियनको नेतृत्व र संगठनको नेतृत्व दुईचार बाहिरिया शक्तीको आडमा अधिवेशन अस्तव्यस्त बनाउने, स्थगित गर्ने, रक्तपात मच्चाउनेसम्मको हतकण्डामा उत्रिएका थिए । तिनलाई परास्त र व्यवस्थापन गर्दै आफू हारेर पनि संगठनलाई जिताउनु आफ्नो मुल कर्तव्य ठानें ।

एक हजार प्रतिनिधि नेपालगञ्जमा व्यवस्थापन गर्नु, स्वदेशी तथा विदेशी पाउनाहरुलाई आमन्त्रण गर्नु, अधिवेशन व्यवस्थापन गर्नु कम चुनौतिका विषय थिएनन् । व्यवस्थापन भित्रका केही व्यवस्थापकीय कमजोरी र जसरी पनि आफूलाई जिताउने हत्कण्डाहरुलाई परास्त पार्न नसक्दा चुनावमा प्राविधिक ढंगले पराजय व्यहोरियो।

आगामी दिनमा नेपाल निजामती कर्मचारी संगठनभित्र तपाईको भूमिका के रहन्छ ?
नेतृत्वमा रहँदा होस् वा बाहिर रहँदा, नेपाल निजामती संगठनभित्र मात्रै होइन, मुलुकको ट्रेड युनियन आन्दोलनको व्यवस्थापनमा निरन्तर रुपमा क्रियाशिल रहेको नाताले मेरो नेतृत्वमा उठान गरिएका मुद्दाहरु क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेन्टी, शून्य सहनशिलता, भ्रष्टचार विरोधी अभियान, जनताका गुनासा शुन्यमा झार्र्नेप्रतिवद्धता, नेपाली नागरिकका नेगो एम्बुलेन्स सेवा, सामाजिक सुरक्षाका लागि सदस्यता नविकरणसँग विमा योजना जस्ता दीर्घकालिन नीतिहरु संगठन प्रवेश गराएका नाताले पनि मुलूकको ट्रेड युनियन आन्दोलनमा मेरो भूमिका अनिवार्य र अपरिहार्य हुनेछ ।


अधिवेशनपछि पनि तपाईहरुको संगठनभित्रका विवादका विषयहरु कायमै छन् त ?

जिवित र क्रियाशिल संगठनमा वादविवाद, प्रतिवाद, द्धन्द र त्यसपछिको निष्कर्ष स्वभाविक हुन्छ । अब विवादहरुलाई व्यवस्थापन गर्न आवश्यक छ । तर, यसो भन्दै गर्दा १० औं राष्ट्रिय अधिवेशनमा देखिएका अराजकता र हत्कण्डाहरुको निर्ममतापूर्वक समिक्षा हुन आवश्यक छ ।

भोलिको नजिर नबन्ने गरि दोषी र अपराधीलाई दण्डित गर्ने विषय, संस्थागत निणर्यको विरुद्धमा २-४ जनाको हुलले नारा जुलुस गर्दैमा फिर्ता गर्न नहुने विषय, राजनैतिक दलका उच्चस्तरीय नेतृत्व तल्लो यति तल्लो स्तरमा ओर्लिएको विषय समिक्षाका विषय बन्न सक्छन् । फेरि पनि संगठनलाई व्यवस्थापन गर्दै निजामती क्षेत्रको मूल प्रवाह र सबै निजामती कर्मचारीहरुको आशा र भरोसाको केन्द्र ‘नेपाल निजामती कर्मचारी संगठ’ हो, भन्ने विषयलाई कहीं कतैबाट कमजोर हुन नदिने विषयमा निर्वाचित नेतृत्व र सबै क्रियाशिल सदस्य मित्रहरु लाग्नुको विकल्प छैन ।

जहाँसम्म मेरो विषय हो, संगठन व्यवस्थापन, अराजकताको अन्त्य, सबै संगठकहरुको गुनासो सुनुवाईको केन्द्र र मुलुकको ट्रेड युनियन आन्दोलनलाई जनताको भरोसायोग्य बनाउने विषयमा सदैव क्रियाशिल रहने छु ।

अन्त्यमा, निर्वाचित नेतृत्वलाई अगाडि बढ्न के सुझाव दिनुहुन्छ ?
१० औं राष्ट्रिय अधिवेशनले निकालेका निष्कर्ष र फैसलाहरुको प्रभावकारी कार्यान्वयन, सबै संगठनहरुको साझा र भरोसा योग्य नेतृत्व, संघीयतामा कर्मचारी व्यवस्थापन र बाँडफाँडमा वैज्ञानिक हस्तक्षेप, वैज्ञानिक-सामाजिक सुरक्षा र जिविकोपार्जन योग्य तलबभत्ता निर्माणमा जोड, जनताका सेवा प्रवाह प्रभावकारी र गुनासोरहित ढंगले सम्पादन गर्ने विषय, ट्रेड युनियन आन्दोलन भित्रका ‘३अ’ को निर्ममतापूर्वक भण्डाफोर, सेवा प्रवाहको तल्लो निकायमा कार्यरत कर्मचारीहरुको जीवन सुरक्षा, सरुवाको निवेदन ट्रेड युनियनका नेताहरुले बोकेर हिंड्ने प्रवृतिलाई अन्त्य गर्दै पूर्व अनुमानयोग्य सरुवा प्रणाली निर्माण लगायतका महत्वपूर्ण विषयमा निर्वाचित नेतृत्व क्रियाशिल रहनेछ । यि विषय व्यवस्थापनमा मेरो सदैव साथ र सहयोग रहनेछ ।