• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

‘स्ववियु र ने.वि.संघबीच रगतको सम्बन्ध छ’- महर

संबिधान संशोधनको विषयलाई केन्द्र बनाएर राजनीति संवेदनशील बनिरहेका बेला हिंजोमात्र त्रिभुवन विश्वविद्यालयले स्ववियुको चुनावका लागि बाटो खोलेको छ । विगतमा त्रि.विले पटक–पटक कार्यतालिका ल्याउने र पछि स्थगित तर्ने गरेको तथ्यको पृष्ठभूमिमा यसपालीको स्ववियु चुनाव र नेविसंघको आन्तरिक जीवनका विभिन्न विषयबस्तुमा केन्द्रित रही एसियन समाचारका लागि नेपाल विद्यार्थी संघका सभापति नयनसिंह महरसंग नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी:

हिंजो त्रिभुवन विश्वबिद्यालयको सिनेटले गरेको फैसला बमोजिम स्ववियु निर्वाचन निर्धारित समयमा हुन्छ त ?
स्वतन्त्र विद्यार्थी युनियन समग्र विद्यार्थी आन्दोलनसंग जोडिएको विषय हो । विगत लामो समयदेखि जे जति कारणहरुले चुनाव हुन नसकेपनि अब निर्वाचन हुनुको विकल्प छैन ।विद्यार्थी आन्दोलनको निरन्तरता र विद्यार्थीका हक हितको सुनिश्चितताको लागि चुनाव गराउनै पर्ने कुरामा हामीले जोड दिएका छौं ।

नेविसंघ अब चुनाब होला की नहोला भनेर शंका गरेर बसिरहनेभन्दा पनि चुनावको तयारीमा जुटेको छ ।ने.वि.संघले त्रि.वि. र विद्यार्थी संगठनहरुसंग पटक पटक गरेका छलफलहरुले स्ववियु निर्वाचनको मिति घोषणाको वातावरण वनायो यो सकरात्मक कुरा हो ।

उमेरहदको विषयमा विद्यार्थी संगठनको नेतृत्वले त्रिभुवन विश्वविद्यालयसंग सहमती गरेकोप्रति क्याम्पसमा राजनीति गरिरहेका नेताहरु आक्रोशित देखिनुलाई के भन्नुहुन्छ ?
पहिलो कुरा के बुझ्नुपर्यो भने विद्यार्थी संगठनहरु नेविसंघ ,अखिल र क्रान्तिकारी लगायतको वर्तमान नेतृत्वले यो उमेरहदको विषयमा सहमती गरेका छन् भन्ने कुरा शतप्रतिशत झूटो हो । यो हामी तीनवटै संगठन र अन्य संगठनको तत्कालिन नेतृत्वले त्रि.विसंग गरेको सम्झौता हो । हाम्रो कुरा के मात्र हो भने कुनै पनि हालतमा स्ववियु निर्वाचन हुनुपर्छ । स्ववियु र नेपालको विद्यार्थी आन्दोलनको रगतको सम्बन्ध छ ।

नेविसंघ,अखिल र क्रान्तिकारीको पूर्व नेतृत्वले त्रि.वि संग २०७२ भित्र स्ववियु निर्वाचन गर्न सकियो भने एकपटकलाई उमेरहद नतोक्ने तर ०७२ पछि हुने चुनावमा उमेरहद कायम गर्नुपर्ने भनेर भनेर गरेको सहमति हामीले पालना मात्र गर्न खोजेका हौं ।

वास्तवमै यो उमेरको विषयले हाम्रै कैयौं साथीहरुले चुनावमा प्रतिष्पर्धा गर्न नपाउने विषयले पोल्न त मलाई पनि पोलेको छ नि । तर उमेरहद तोक्ने विषय सिकाईका लागि राम्रो होइन । सिकाई जीवनभर चलिरहने प्रकृया भएकाले विश्वविद्यालयमा उमेरहद राम्रो होइन । व्यवहारिक रुपले पनि १० बर्षदेखि स्ववियु निर्वाचन कुरेर बसेको एक जना विद्यार्थीलाई यस निर्णयले निराश तुल्याउछ । उमेरहदमा पुनर्विचारका लागि त्रि.वि.लाई हामी एकपटक फेरि पनि आग्रह गछौं ।

खासमा यो विद्यार्थी आन्दोलनमा स्ववियुको भूमिका के छ ?
स्वतन्त्र विद्यार्थी युनियन हामीलाई कसैले प्रदान गरेको होइन,यसको आफ्नै ऐतिहासिक महत्व छ । नेपालमा भएका ठूलाठूला परिवर्तन चाहे ०३६ सालको जनमत संग्रह होस् चाहे ०४६–४७ को जनअआन्दोलन होस् अथवा ०६३–०६३ को जनआन्दोलन नै किन नहोस् विद्यार्थी संगठनहरुसंगै स्ववियुले खेलेको भूमिका महत्वपूर्ण छ ।त्यसैले यसको ऐतिहासिक सम्मानका लागि पनि स्ववियु चनाव हुनुपर्छ । यो संगै विद्यार्थी हकहीतका एजेण्डाहरुलाई नीतिनिर्माण तहसम्म पुर्याउन हिंजोदेखि स्ववियुले जुन भूमिका खेल्दै आयो त्यो अत्यन्तै सह्रानीय छ ।

प्रसंग बदलौं, तपाई नेविसंघको नेतृत्वमा चयन भैसकेपछि नेविसंघले सम्पन्न गरेका हालसम्मका गतिविधिका बारेमा केही बताइदिनुहोस् न ।
नेपाल विद्यार्थी संघमा म लगायतको नयाँ साथीहरुको टिम नेतृत्वमा आइसकेपछि हामीले सबैभन्दा पहिले आफैमा खिया लागेको अझ क्यान्सरपीडित जस्तो संगठनलाई गतिशिल बनाउन संगठन निर्माणको अभियानलाई तीव्र बनायौं ।

पार्टी सभापति लगायत पार्टीको शीर्ष नेतृत्वबाट हामीले त्रि–चन्द्र क्याम्पसमा ‘जहाँ विद्यार्थी त्यहाँ नेविसंघ’ लिएर एउटा ६ महिने अभियान सुरु गर्यौं । संगठनभित्रका आन्तरिक कमजोरीहरुलाई सुधार गर्दै स्ववियु एजेण्डालाई महत्वपूर्ण ढंगले उठायौं जुन अब हुने नै भैसकेको छ ।

यसबाहेक हामीले एमालेले उठाएको अन्धराष्ट्रवादबाट आम विद्यार्थी र जनतालाई जनचेतना जगाउन विभिन्न सभा र गोष्ठिहरु गर्दै आइरहेका छौं । अबको तत्कालिन योजना अन्तर्गत स्ववियु निर्वाचनमा नेविसंघको जित सुनिश्चित गर्न हामी ध्यान केन्द्रित गरेका छौं ।साथसाथै हामीले संगठनको नियमावली निर्माण समेत गरेका छौं ।यसरी नेविसंघ सम्पूर्ण विद्यार्थीको आशा र भरोसाको केन्दविन्दु बन्दैछ ।

संविधान संशोधनको विषयलाई लिएर अनेरास्ववियुलगायत विद्यार्थी संगठनको जारी संयुक्त आन्दोलनलाई कुन रुपमा लिनुभएको छ ?
राष्ट्र र जनताको पक्षमा हुने सकारात्मक आन्दोलनहरुमा हाम्रो सहानुभुति सदैव रहन्छ । तर, पहिले आफैले हस्ताक्षर गरेर गरेको सहमतीलाई अहिले मान्दिन भनेर केपी ओली भनिरहनुभएको छ ,जुन सरासर गलत हो । हाम्रो तात्कालिन पार्टी सभापति शुसिल कोईराला र केपी ओलीको संयुक्त हस्ताक्षर भएको विषय अहिले एमालेले उठाउन म जाहेज देख्दिन ।

राष्ट्रियता भनेको के विदेशीलाई गाली मात्रै गर्ने हो र ? त्यसो भए के विदेशीको विराध नगर्नेहरु राष्ट्रियता चाहदैनन् ? त्यसैले उहाँहरुले गरिरहेका आन्दोलन देशभक्तिपूर्ण नभएर केबल सत्ताबाट बाहिर बस्नुपर्दाको अभिव्यक्ति मात्र हो जस्तो लाग्दछ ।

एक विद्यार्थी नेतृको नजरबाट नेपालमा शिक्षा क्षेत्रमा बेलाबेलामा उठिरहने समान शिक्षा प्रप्तिको आवाजलाई कसरी बुझ्नुहुन्छ ?
यस सन्दर्भमा मेरो कम्युनिष्टहरुको भन्दा पनि पृथक धारणा छ । यहाँ जहिले पनि गरिबका छोराछोरीले पढ्नै नपाउने तर धनीका छोराछोरीले महँगो स्कूलमा पढ्ने भनेर प्रश्नहरु उठाइन्छन् तर, प्रस्ट कुरा के हो भने हुनेखानेले जसरी सकिन्छ पढ्ने हो र गरिबका छोराछोरीको पढाइको जिम्मा राज्यले लिने हो ।

गरिबका छोराछोरीका लागि धनीका छोराछोरीसरहको शिक्षा प्रदान गर्नुपर्छ भन्ने कोणबाट उठ्ने कुरा नै गलत हुन् । हाम्रो कुरा पढ्न नसक्ने आर्थिक अबस्था भएका विद्यार्थीका लागि राज्यले जिम्मेवारी लिनुपर्छ, यसको व्यवस्था राज्यले गर्नुपर्छ भन्ने हो ।