• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

ने.वि.संघ र कुलपतिले चुनाव विथोल्ने आशंका छ: पूर्णबहादुर सिंह

संसदीय व्यवस्थालाई अस्विकार गर्दै नेपालको सनातनी राजनीतिक प्रणालीविरुद्ध उभिएको विप्लव नेतृत्वको नेकपा माओवादीले यस व्यवस्थाका निर्वाचनहरुलाई वहिष्कार गर्दै आएको छ । तर, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी भने स्ववियु निर्वाचनको तयारीमा होमिदै छ । एकिकृत जनक्रान्तिको कार्यदिशामा माऊपार्टीको विद्रोहात्मक सोंच र पार्टीको मेरुदण्ड उसको विद्यार्थी संगठनले गर्ने स्ववियु चुनावको तयारीलाई कसरी वुझ्ने ? स्ववियु निर्वाचनलाई हेर्ने दृष्टिकोण, स्ववियुको अर्थ, औचित्य,चुनावी परिणामको आशा र त्यसलाई वुझ्ने तौर–तरिकालगायत संगठनका विभिन्न गतिविधि सवै विषयलाई केन्द्रीत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहसंग एसियन समाचारका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी ।

स्ववियु निर्वाचनमा सहभागिताबारे अखिल क्रान्तिकारीले कस्तो सोच बनाएको छ ?
नेपालका सम्पूर्ण विद्यार्थी संगठनको दबावमा त्रि.वि.ले आफ्नो अघिल्लो सिनेटबाट नै निर्वाचन गर्ने संकेत देखाएको थियो । सिनेटको पछिल्लो निर्णयले निर्वाचनका लागि त्रि.वि. तयार भयो की भन्ने आशाको सञ्चार त भएको छ । तर त्रि.वि.को आफ्नै तत्परताले स्ववियु निर्वाचन हुने भो भन्ने कुरा सत्य होइन । विद्यार्थी संगठनहरुको पटक–पटकको दबाव अझ महत्वपूर्ण हो ।

जहाँसम्म स्ववियुमा अखिल क्रान्तिकारीको सहभागिताको कुरा हो, यसमा हामी गएको एक बर्षदेखि निकै तयारीमा छौं ।विश्वविद्यालयहरुलाई पारदर्शिता र प्राज्ञिक स्थलकै रुपमा विकास गर्न अखिल क्रान्तिकारीको आवश्यकता छ । त्यही आवश्यकता पुरा गर्न स्ववियुमा हाम्रो सहभागिता जरुरी छ । कमिसन र भ्रष्टाचारजन्य विकृतिमा डुवेका विश्व विद्यालय सफा गर्न, भ्रष्टाचारी, दलाल र कमिसनखोरहरुको अन्त्य गर्न पनि अवको स्ववियुमा हाम्रो आवश्यकता छ । तर मिति घोषणापछि पनि स्ववियु निर्वाचनमाथिको शंकाको वादल हटेको छैन ।

हाम्रो विचारमा ने.वि.संघ र त्रि.वि. कुलपति दुर्इ पक्ष अझै चुनाव विथोल्न सक्छन् । ने.वि. संघले उमेरहदमा पुनर्विचारको सर्त तेर्साएर चुनाव रोक्न सक्छ र कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि स्थानीय चुनावमा समस्या पर्न सक्ने भएकाले यसको सुनिश्चित भइनसकेको वताएका छन् । यो गंभिर र सोचनीय विषय हो ।

स्ववियु निर्वाचनमा तपाइहरुको सहमति र विमतिका विषयहरु के हुन ?
स्ववियु विद्यार्थी आन्दोलनको उपलव्धी हो भन्ने कुरामा दुईमत छैन । जुन विश्वासका साथ नेपालको परिवर्तनका विभिन्न कालखण्डमा स्ववियुले अतुलनीय योगदान पुर्यायो । स्ववियु आज पनि आफ्नो त्यस गौरवपूर्ण इतिहासको विरासतबाट विचलित हुनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।

गंगालाल र चिनियामान काजीको रगतको मुल्यवोध गर्नसक्ने स्ववियु निर्माणको चुनौति हामीसंग छ, निरंकुश पञ्चायतविरुद्ध विश्वविद्यालयबाट धावा वोल्ने र विद्यार्थी हक हित मात्रै होइन आम नागरिकलाई परिवर्तनको ज्वारभाँटातिर हुत्याउने स्ववियुको सशक्त र धारिलो चरित्रमा सान लगाउनु आजको दोस्रो चुनौती हो । शहिदका रगतको मूल्यवोध गर्न तयार नहुने र पञ्चायतकालिन विधान बमोजिम चल्ने स्ववियु बाट आजका आवश्यकताहरुको संवोधन संभव छैन भन्ने हाम्रो निष्कर्ष हो । त्यसकारण स्ववियुलाई विद्यार्थीका वास्तविक हक अधिकार र प्राज्ञिक विषयहरुमा उठ्ने समस्याको संवोधन गर्ने केन्द्र बनाईनुपर्छ ।

स्ववियुलाई एकाधिकारको केन्द्र र अवैध धन्दा गर्ने अखडा बन्न दिने पक्षमा अखिल क्रान्तिकारी छैन । यसलाई सवै विद्यार्थी संगठनको साझा मञ्च बनाउन हामीले नै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा उठाएका हौं । हाम्रो अथक प्रयत्न र त्रि.वि. माथिको लगातारको दबावका वावजुद मिश्रित निर्वाचन प्रणालीसम्म त सहमति वनेको छ यसैमा पनि हामी पूर्ण सन्तुष्ट छैनौ ।

स्ववियुलाई भ्रष्टाचारमुक्त बनाउन र विश्वविद्यालयको सत्ता पारदर्शी बनाउन चुनावी विकृतिको अन्त्य गरिनुपर्छ भन्ने अखिल क्रान्तिकारीको कुरा हो । हामी ठेक्का पट्टा गर्ने, कलेज प्रशासनसंगको मिलेमतोमा अवैध धन्दा गर्ने, विद्यार्थीमाथि विभिन्न शुल्क लगाएर पैसा असुल्नेहरुबाट स्ववियुको गरिमा जोगाएर विद्यार्थी, जनता र राष्ट्रियताका सवालमा कसरी केन्द्रित बनाउने भन्ने कुरामा सोचिरहेका छौं । स्ववियुलाई गिरोहहरुले धन्दा गर्ने केन्द्र बन्नबाट रोक्ने हाम्रो लक्ष्य हो ।

स्ववियुमा क्रान्तिकारीको सहभागिताले तपाईहरुको माऊ पार्टीलाई पनि चुनावमा आकर्षित गराउने छ भन्ने अड्कलहरु छन्, तपाइलाई के लाग्छ ?

बिल्कुल गलत कुरा हो । हाम्रो पार्टीको विचार स्पष्ट छ, नेकपा (माओवादी) दलाल संसदीय व्यवस्थाका कुनैपनि प्रकृयामा सहभागी हुँदैन । हामी स्ववियु निर्वाचनमा जाने कुरासंग पार्टी चुनावमा आउने कुरा जोड्नु गलत हो । हामी त विद्यार्थी संगठन भएका नाताले त्रि.वि. बाट दलालहरुलाई लखेट्न, त्रि.वि.लाई जनताका छोराछोरीको विश्वविद्यालय बनाउन र त्रि.वि. का विद्यार्थी अन्त सप्लाई गरेर निजी कलेज चलाउने तर त्रि.वि.को तलब खाने भ्रष्टाचारीहरुको अन्त्य गर्न चुनावमा जानु परेको हो ।

जसरी नेकपा (माओवादी) यो देशबाट दलाल संसदीय व्यवस्थाका जरा उखेल्न चाहन्छ त्यसैगरि हामी स्ववियुभित्रको फोहोर समाप्त पारि विद्यार्थीको प्राज्ञिक र शैक्षिक अधिकार सुनिश्चित गराउन चाहन्छौं । संगसंगै विद्यार्थीमा त्रि.वि.को व्यवस्थापन र राष्ट्रियताको सन्दर्भमा जागरण ल्याउन चाहन्छौ ।

स्ववियु चुनावलाई मिनि इलेक्सनका रुपमा व्याख्या गरिनु कत्तिको सान्दर्भिक छ ?

त्यो गलत हुन्छ, किनभने राजनीतिक पार्टीको जनमत सो गर्ने ठाउँ संसदीय व्यवस्था र संसदीय निर्वाचन हो, स्ववियु होइन । स्ववियु चुनावको सम्वन्ध विद्यार्थीहरुको अधिकार स्थापित गर्ने कुरासंग हुन्छ । त्यसैले राजनीतिक पार्टीको मत सर्वेक्षण गर्ने थलो स्ववियु होइन र वनाईनु हुँदैन ।

अनेरास्ववियु क्रान्तिकारीको पछिल्लो समयको सक्रियता कता केन्द्रीत छ ?

हामी पछिल्लो समय मात्रै होइन निरन्तर विद्यार्थी हकहित र अझ राष्ट्रियताको सन्दर्भमा वढी केन्द्रीत छौं । मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने अभियानमा हामी छौं । विश्वविद्यालयलाई व्यवस्थित वनाउन हामीले विश्वविद्यालय सुधार अभियान २०७३ गत मंसिरबाट सुरुवात गरिसकेका छौं । यतिवेला हामी यही अभियानलाई त्रि.वि. अन्तरगतका देशभरका २८७ ओटा क्याम्पसमा सञ्चालन गरिरहेका छौं । अब हामी स्ववियु निर्वाचनतर्फ केन्द्रीत हुन्छौं ।

यसपालिको स्ववियु निर्वाचनमा तपाईहरुको खास एजेण्डा के–के हुन ?

सबैभन्दा महत्वपूर्ण कुरा भनेको दलालहरुको पञ्जामा रहेको विश्वविद्यालयलाई वचाउने हो र यसलाई हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय, जनताको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय वनाउने कुरामा हाम्रो जोड छ । त्रि.वि.का सबै आङ्गिक क्याम्पसमा सस्तो र गुणस्तरिय शिक्षा, भर्ना र परिक्षाको समयमै कार्यतालिका प्रकाशन गर्ने कुरा त्यस्तै सम्वन्धको विक्री वितरण रोक्ने, त्रि.वि. नजिकका कलेजमा विद्यार्थी सप्लाईको अन्त्यलगायतका महत्वपूर्ण एजेण्डाहरु लिएर हामी स्ववियु निर्वाचनमा जाँदैछौं ।

भोट खरिद, विक्रिका लागि फर्जि विद्यार्थी भर्ना रोक्ने, स्ववियु निर्वाचनलाई स्वच्छ, पारदर्शी प्रतिष्पर्धी र मर्यादित बनाउने कुरामा हाम्रो जोड रहन्छ । हामीलाई स्ववियु चुनावमा भोट कति ल्याइन्छ, जितिन्छ वा जितिदैन भन्नेभन्दा पनि विश्वविद्यालयलाई पारदर्शी वनाउने कुरामा चिन्ता छ । हाम्रो अर्को योजना त्रि.वि.भित्रका दलालहरुलाई तातोपानी र रक्सौल नाका कटाउने हो ।

तपाईको नजरमा नेपालको विद्यार्थी आन्दोलनका समस्या के हुन ?

नेपालको विद्यार्थी आन्दोलनमा खासगरि तीनधार देखिएका छन् । पहिलो विदेशीको भरोसामा पुरातनपन्थीहरुको छहारीमा प्रतिगामी धारा, दोस्रो संसदीय व्यवस्था र संसदवादी पार्टीहरुको छहारीमा टिकेको संसदवादी धारा र तेस्रो क्रान्तिकारी धारा छन् । प्रतिगामी र संसदवदी धारा वर्गचरित्रका हिसाबले एक ठाउँमा छन् ।

अर्को जुन क्रान्तिकारी धारा छ त्यो अहिले सशक्त रुपमा अगाडि आउँदै छ । यसकारण सिता खाएर गिता गाउने प्रतिगामी र संसदवादीहरु तथा क्रान्तिकारीहरुको व्यापक अन्तरसंघर्षबाट नेपालको विद्यार्थी आन्दोलन अगाडि बढीरहेको अवस्था हो । यस्तो अवस्थाको लागि अहिलेको दलाल राज्यव्यवस्था कारक वनेको छ । यसको अन्त्यका लागि विशाल अभियान थालनी गर्नु जरुरी छ ।

बास्तवमा सुरुमा विद्यार्थी आन्दोलन राष्ट्रियता, जनजीविका र जनतन्त्रकै जगमा सुरुवात भएको थियो । गंगालालले प्रजातन्त्र प्राप्तीका लागि उच्च शहादत प्राप्त गरेको कुरा होस वो विपिले भारतीय संसदमा नेपाल भारतको एक प्रान्त वनेपनि फरक पर्दैन भन्दा चिनिया काजीले दिनु परेको कुर्वानी होस या गणतन्त्रकै लागि थुप्रै विद्यार्थीहरु शहीद हुनुपरेको घटना होस यी तीन ओटै पृष्ठभूमी हेर्दा यो एक वीरताको आन्दोलन थियो । तर दशबर्ष जनयुद्ध लडेको माओवादीको एउटा हिस्सामा देखिएको विचलनताले परिवर्तनका निर्णायक लडाइहरुमा केही समस्याहरु पैदा भए तर स्थिती धेरै लामो जाँदैन ।

संविधान संशोधनको विषयलार्इ लिएर केही विद्यार्थी संगठन संघर्षमा देखिनु र सत्ता निकट विद्यार्थी संगठनहरु मौन रहनुलाई यहाँले कसरी लिनु भएको छ ?

यो के ठूलो कुरा भयो र ? सत्तामा नभएकाहरु सत्ता प्राप्तीका लागि राष्ट्रियताको आन्दोलनको नाटक गर्ने र सत्तामा भएकाहरु मस्त भएर वस्ने कुरा उनीहरुले अनुशरण गरेको विचारकै जगमा छ । ‘महाकाली साझा हो,पानी आधा–आधा हो’ भन्ने एमालेले पनि राष्ट्रियताको नौटंकी गर्न जरुरी छैन र अझ त्योभन्दा पनि वढी सामन्तवाद र विस्तारवादको शरणमा परेका पुष्पकमल दाहालले त झन् देश नै बेचिसके ।

त्यसैले यसलाई आन्दोलन होइन सत्ताको सौदावाजीकै रुपमा वुझ्दा ठिक होला । कुर्चिमा वसेका दलाल र कुर्चिबाट वाहिरिएकाहरु दलाल होइनन् भन्ने होइन सबै दलाल हुन् । एमाले जस्तो नदि नाला मात्रै होइन २५ वुदे राष्ट्रघाती सम्झौता गरेका प्रचण्डबाट के आशा गर्ने र? कुर्चिका लागि लगाइने राष्ट्रियताको मुकुण्डोको कुनै अर्थ छैन ।

अन्तमा नेपालको शिक्षा प्रणालीलाई सुरुवातदेखि नै वुर्जुवा भन्दै आइरहेको अखिल क्रान्तिकारीको त्यो खारेजीको एजेण्डा अहिले कहाँ पुग्यो ?
वुर्जुवा शिक्षालाई माओले दिएको केराको उदाहरणसंग जोडेर हेर्न सकिन्छ । गुदी खाने र वोक्रा फाल्ने, राम्रा कुरा ग्रहण गर्ने नराम्रा कुरा हटाउने अर्थमा यसलाई लिनु पर्छ । जहाँसम्म खारेजीको कुरा हो यो रणनीति र कार्यनीतिको एक हिस्सा हो, जुन राज्यसत्ता र त्यसको चरित्रसंग जोडिन्छ । जनवादी व्यवस्थाविना जनवादी शिक्षा कसरी संभव हुन्छ ? अहिलेको दलाल व्यवस्थामा वुर्जुवा शिक्षा खारेजीको सवाल केही जटिल छ ।

अर्को कुरा, शिक्षाको वुर्जुवाकरणको विषय त्यसले कसको सेवा गर्छ भन्ने कुरासंग जोडिन्छ । शिक्षाले पुजीपति, सामन्त र दलालहरुको सेवा गर्छ भने त्यो शिक्षा वुर्जुवा वर्गको सत्ताको पहरेदार वन्छ । त्यस शिक्षामा दम्भ, घमण्ड, अहंकार, अभिमान प्रकट हुन्छ र त्यो गरिब र निमुखामाथि बज्रपात वन्न पुग्छ । जुन शिक्षाले समानता अर्थात आदर, कदरको समान ग्राफ देखाउँछ, नम्रता,शिष्टता, सभ्यता र गरिब, निमुखा र समाजको पिछडिएको वर्गको सेवामा समर्पित हुन इच्छा प्रकट गर्छ त्यो जनवादी शिक्षा हो ।