• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

मोर्चाले झिक्यो अर्को लफडा-संविधान संशोधन भएपनि पूर्नसंरनाको खाका नमान्ने

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेस मोर्चाले स्थानीय निकाय पुनर्संरचनाको खाका अस्वीकार गरेको छ ।शुक्रबार ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएलगत्तै मोर्चाले पुनर्संरचनाको खाका मान्य नहुने स्पष्ट पारेको हो ।

मोर्चाका प्रमुख नेता महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै संघीय राज्य पुनःसंरचनाको मूल अवधारणा र स्वयं नेपालको संविधानको धारा ५६ को (४) र (५) र धारा २९५ को (३) विपरित भएकोले यस्तो संरचनाको खाका मधेशलाई मान्य नभएको प्रष्ट पारेको छ ।

‘संघीय राज्य पुनःसंरचनामा संघ, प्रदेश, स्थानीय निकाय र विशेष/संरक्षित वा स्वायत्त क्षेत्रहरुको समन्वयको मान्य सिद्धान्त अनुसार स्थानीय निकाय तथा विशेष/संरक्षित वा स्वायत्त क्षेत्रहरु प्रदेशको क्षेत्राधिकार पर्ने कुरा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ– ‘यस मूल सिद्धान्तको विपरित, जनसंख्याको मूल आधारलाई समेत वेवास्ता गर्दै स्थानीय निकायको कुनै पनि संरचना हामीलाई स्वीकार्य छैन् ।’ मोर्चाले यसअघि नै स्थानीय निकायको पुनर्संरचना सच्याउनुपर्ने माग अघि सारिसकेको छ । संविधान संशोधनपछि मोर्चाको यो अर्काे माग हो ।