• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

प्रचण्डले भने-‘उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने सहमति भएकै हो”

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको दाबी गरेका छन ।

प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा सहमति भएर नै प्रस्ताव टेबल गरिएको बताए ।

प्रचण्डले भने – “उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने सहमति भएकै हो” उनले थपे – “हामीले एग्री टु डिसएग्री ग-यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”

बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जवर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताए ।

चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री प्रचण्डले भने – “हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”

एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उनले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताए ।

अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उनले बताए । गृहमन्त्री अर्को कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भनेको पनि उनले बताए ।

दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उनले बताए । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताए ।

पहिले जस्तो सजिलै राजीनामा दिन्न

प्रधानमन्त्री प्रचण्डले पहिले जस्तो सजिलै सरकारबाट राजीनामा नदिने बताएका छन्। ‘कामको कुरा छ, संविधान कार्यान्वयन गर्ने कुरा छ, समझदारी भन्दा बाहिर जान्छु भन्ने होइन तर बीचैमा छाड्ने भन्ने होइन’ उनले भने। सकेसम्म पूरक बजेट ल्याउने तयारी समेत भैरहेको जानकारी दिंदै उनले चितवनका लागि महत्वपूर्ण प्याकेज ल्याउने दोहोर्‍याए।