• Tuesday 27th , June 2017 | मङ्लबार, असार १३, २०७४

तानसेन नगरपालिकाको बजेट करिब १५ करोड

पाल्पा,  तानसेन नगरपालिकाको २०औँ नगरपरिषद्ले करिब १५ करोड बराबरकाे बजेट सार्वजनिक गरेकाे छ । अाव २०७४/०७५ को रु १४ करोड ६६ लाख ७२ हजार ७१६ को बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।

तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले आगामी आवमा परिषद्ले पुँजीगततर्फ रु १३ करोड १४ लाख ७२ हजार ७१६ र चालु प्रशासनिकतर्फ रु एक करोड ५२ लाख छुटयाएको बताए ।

परिषद्ले सन् २०१८ भित्र तानसेन नगरलाई शून्य फोहरयुक्त नगरपालिका घोषणा गर्ने, प्लास्टिकमुक्त नगरलाई नेपालमै नमुना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेकाे कार्यकारी अधिकृत पौडेलले जानकारी गराए।

तानसेनलाई सरकारले घोषणा गरेअनुसारको ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आर्कषणको रुपमा रहेको श्रीनगर पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, गौडे पुलदेखि होलाङ्दीसम्म सडकलाई चार लेनको बनाउने जस्ता महत्वाकांक्षी योजना अघि बढाएको छ ।

परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी विष्णु पौडेल, मनोहरलाल शाक्य, रुपा शाक्य, मङ्गलबहादुर भाट, राजु महर्जन, धनबहादुर सारु, लोकमान श्रेष्ठ, दिलबहादुर दमाई, तथा उत्कृष्ट करदाता पाल्पाली छे र सरसफाइतर्फ कैलाशनगर युवा क्लबलाई सम्मानित गरेको छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले नगरपालिका जस्तै जिल्लाको आन्तरिक स्रोत कम भएकाले चाहे जति बजेट तानसेन नगरपालिकालाई विनियोजन गर्न नसकिएको बताए । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेताहरूको समेत सहभागिता रहेको थियो ।