• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलनका प्रणेता रुपचन्द्रको जन्मजयन्ती आज

काठमाडौं- थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८३ औं जन्मजयन्ती मंगलबार बिभिन्न कार्यक्रम गरी मनाइँदैछ। विष्टको बि.सं. १९९० पुस २६ गते जन्मिएका विष्टको स्मृतिमा उनको जन्मथलो मकवानपुरको पालुङका युवाहरुले सप्ताहव्यापी थाहा दिवस मनाइरहेका छन्।

मंगलबार थाहा नगरमा विष्टको स्मृतिमा हुने कार्यक्रमको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उद्घाटन गर्दै छन्। रुपचन्द्रको थाहा दर्शनलाई फैलाउन र नयाँ पुस्तामा यसको महत्व प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गर्न थालिएको कार्यक्रम संयोजक यादवजंग रायमाझीले बताए।

त्यसो त रुपचन्द्र स्यमंले जन्मजयन्ती र जन्म दिवसजस्ता कुरामा कहिल्यै कुनै पनि प्रकारको चासो दिएको पाइदैन। उनको भनाइ थियो ‘जन्मले कोही ठूलो–सानो हुँदैन, कामले हुन्छ।’ पञ्चायतकालमा जनपक्षीय मुद्दाहरु उठाएर लोकप्रिय बनेका विष्ट शासन र शोषणरहित समाजको पक्षपाती थिए।

जनमतमार्फत पटक–पटक राष्ट्रिय पञ्चायतको सदस्यसमेत बनेका रुपचन्द्र आजीवन सरकारमा भने गएनन्। त्यतिखेरको शासन व्यवस्था र पञ्चायती शैलीप्रति उनको चर्को विमति थियो। गरीबको राजनीति धनीले, श्रमिकको राजनीति पूँजीपतीले र महिलाको राजनीति पुरुषले गरिदिएर नहुने बताउने विष्ट जनताले आफ्नो व्यवस्था आँफै गर्न पाउनुपर्ने बताउँथे।

वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्रले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।

उनी भन्थे, “थाहा पा भाते ! जान् भाते ! बुझ् भाते !” थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो ।’