• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

‘अब संघीयता र नेपालमध्ये एउटामात्र रहन्छ’-चित्रबहादुर केसी

भक्तपुर- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र नेपालमध्ये एकमात्र रहने बताएका छन् ।

रफत सञ्चार क्लबकाे कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले भने, ‘पहाड र तराइलाई टुक्राएर आफ्नो लामो समयदेखिको योजना पूरा गर्न संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिडाएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना छ । अब संघीयता र नेपालमध्ये एउटामात्र रहन्छ ।’

केसीले बिदेशीको आदेश पालना गर्न वर्तमान सरकारले विराेधकाे बीच संशोधन बिधेयक टेबल गरेकाे बताए । भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्तासिन दलहरु लागि परेको अाराेप लगाउँदै केसीले भने, ‘महिनौं दिनसम्म पनि लोकमानविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो बिबेकले काम गर्दैनन् ।’

उनले नेपालको तराई क्षेत्रको भु-भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीतिमा संघीयतालाई उपयाेग गरिएकाे बताए । ‘पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतको योजनाअनुसार भारतको कब्जामा लैजाने रणनीति हाे’ केसीले भने ।