• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

‘नेपाल एकीकरण गर्ने पृथ्वीनारायणलाई सम्झनु अपराध होइन, राज्यको कर्तव्य हो’

काठमाडौ- व्यवस्थापिका संसदका अधिकांश सदस्यहरुले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन सरकारसंग माग गरेका छन् । व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरे ।

एमाले सांसद प्रकाश ज्वाला, पुरुषोत्तम पौडेल लगायतले नेपाल राष्ट्र एकीकरणको उनको योगदान भुल्न नहुने भन्दै सरकारले राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिनुपर्ने माग गरे । सांसदहरुले भनेः‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे, उनलाई सम्झनु अपराध होइन, उनलाई सम्झेर विदा दिने राज्यको कर्तव्य हो ।’

यसअघि राप्रपा र नेपाली कांग्रेसका सांसदले पनि पृथ्वी जयन्तीलाई राष्ट्रि एकताका दिवस मानेर पुस २७ गते विदा दिन माग गरेका थिए । मुलुकमा गणतन्त्र आएपछि सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका साथै सार्वजनिक विदा पनि दिन बन्द गरेको छ । तर जनस्तरमा भने सरकारको उक्त कदमको व्यापक आलोचना हुँदै गएको छ ।

विगतका वर्षमा पृथ्वीजयन्ती तथा पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिनको लागि सांसदहरुबाट त्यत्ति दवाव नआएपनि यसपाली भने सांसदहरुले सरकारलाई व्यापक दवाव दिईरहेको छन् । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने विषयमा नकरात्मक भने छैनन् ।