• Tuesday 27th , June 2017 | मङ्लबार, असार १३, २०७४

पृथ्वी जयन्ती: प्रचण्डकै अगाडी ओलीको दिए कडा प्रतिक्रिया

 

 

काठमाडौँ – २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो । यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए ।

स्पष्ट नीति नहुँदा पृथ्वी जयन्तीमा विदा दिन सकिएनः प्रचण्ड

चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्पष्ट नीति नभएकाले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिन नसकिएको बताए । उनले बलियो केन्द्रित राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उल्लेख गरे।

प्रधानमन्त्री दाहालले मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाति, वर्ग र समुदायलाई समेटेर सार्वजनिक बिदा दिने मापदण्डसहितको प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको पनि जानकारी दिए।

प्रधानमन्त्री दाहालले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनसरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

दाहालले राप्रपाले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिए । दाहालले पृथ्वीजयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

‘माओवादीका कारण विदा दिन सकिएन’-ओली

राप्रपाले गरेको चियापान कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वीजयन्तीमा विदा नदिएर संकीर्ण सोच राखेको टिप्पणी गरे।

ओलीले माओवादीका कारण पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन नसकिएको बताए । उनले आफू प्रधानमन्त्री पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण नसकिएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी सो कार्यक्रममा ओलीले भने, ‘आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको थिएँ । तर, सत्तारुढ(माओवादी) दलहरुबीच सहमति हुन सकेन ।’

पृथ्वीनारायण शाह राष्ट्रनायक रहेको भन्दै ओलीले राष्ट्रिय एकता र एकीकरणको पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।