बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

सम्झनामा सिक्किमको हिमपात : मनोरम दृष्य (हेर्नुस भिडियो)

  • एसियन समाचार
  • प्रकाशित मिति : शुक्रबार, माघ १८, २०७५


पुष्प न्यौपाने, बादलले धुम्म परेको आकाश, ग्वान्टोकको उकालो नागबेली बाटो, पूर्वी किनारामा रहेको मुख्यमन्त्री चाम्लिङ्को कार्यालय, ग्वान्टोक हाइटस्थित तत्कालिन राजा चोग्यालको उजाड किंग प्यालेस (हाल निर्माणाधिन संग्राहलय) छेवैको सानो फुटबल मैदान, मानिसहरुको पातलो आवत–जावत, जाडो यामको हिमाली जनजीवन, उराठ लाग्दा पर्वतहरु, पर–परसम्म देखिएका स–साना पहाडी बस्तीका दृष्यहरुलाई आँखामा कैंद गर्दै यात्रा गर्नुको मज्जा बेग्लै छ ।

भिरपाखा छिचोलेर बनाइएको साँघुरो पर्वतीय बाटोमा सेनाका गाडीहरुको बाक्लै आवत–जावत छ , सेनाको गाडीभन्दा केहि पातलो देखिने पर्यटकीय गाडीहरु निकै सावधानिपूर्वक घुम्तीहरु छिचोल्दै हर्न बजाउँदै हुइकिएका छन् । हिमालय पर्वतको चिसो हावा शिसा खोल्न वित्तिकै गाडीभित्र पनि आफ्नो हिमालीपनको झल्को दिन भ्याइहाल्छ ।

हिंउमा रमाउँदै पर्यटक

धुपिसल्लाका रुखहरु, स–साना बुट्यानहरु र मानव बस्ती जति उकालो चढ्यो त्यति पातलिन थाल्छन् । उचाइ चढ्दै जाँदा कुनै बोट विरुवा विनाका उजाड र उराठ लाग्दा पर्वतीय श्रृङ्खलाहरुतर्फ पर्यटकीय गाडीहरु अगाडि बढ्छन् । हिमालय पर्वतको दक्षिणी भागमा भारतीय सैन्य क्याम्प र बन्दोवस्तीका सामानहरु भरिएका सेनाका गाडीहरु छ्याप्छ्याप्ती देखिन्छन् । सेनाको बाक्लो उपस्थिति र सदावाहार चहलपहललाई सिक्कीमका सर्वसाधारणले चीनबाट भारतलाई सुरक्षित गर्न सेनाको सक्रियता ठान्दछन् ।

तिब्बतको पर्वतीय हिम श्रृङ्खलाको दक्षिणी भागमा केहि दशकअघि एउटा सानो सुन्दर हिमाली राज्य सिक्किम आफ्नो स्वतन्त्र अस्तित्वसहित विश्व मानचित्रमा थियो । त्यहाँका अन्तिम राजा नाम्गेल चोग्याललाई बैधानिक कर्मकाण्ड पूरा गरि भारतले सत्ताच्युत गरेपछि सिक्किमको स्वतन्त्र अस्तित्व नामेट भयो र अब त्यो इतिहासको अप्रिय घटना वा एक दुर्घटनाका रुपमा मात्रै चित्रित छ ।

जनमतद्धारा भारतमा विलय गराइएको त्यस हिमाली राज्यमा शत प्रतिशत नेपाली भाषा रहनसहन र भेषभुषा छ । त्यहाँका नेपाली भाषीलाई विभिन्न कलष्टर र समुदायमा विभक्त गरि उनीहरुको भाषिक एकरुपतालाई कमजोर तुल्याइएको कतिपय दार्जिलिङबासीहरुको बुझाई छ । दार्जिलिङ सिक्किमको भरपर्दो छिमेकी हो । विशेष गरि भाषा र साहित्यका क्षेत्रमा सिक्किमले दार्जिलिङलाई रोल मोडल ठान्दछ । यद्यपि दार्जिलिङ आफ्नै असैह्य पीडाको जलनले छट्पटाएको भान हुन्छ ।

भारतमा विलयपछिको सिक्किम अशान्त छैन । त्यहाँको विकास र समृद्धिमा कमि आएको छैन । सिक्किममा अन्य प्रान्तको नागरिकले बसोबास गर्न पाउँदैन । राज्यले सिक्किमलाई विशेष अनुदानको व्यवस्था गर्छ फेरि पनि कहिलेकाँही सिक्किमबासीहरुलाई आफ्नो स्वतन्त्र अस्तित्व गुमेकोमा पीडा हुँदो रहेछ जुन कुरा त्यहाँका गाडी चालकहरु समेत व्यक्त गर्दछन् । सुन्दरताको पक्षबाट हेर्दा सिक्किम रमणीय ठाउँ हो । जहाँ घरपालुवा हिमाली जनावर याकमा चढ्दै हिमाली पर्वतहरुमा एक आध घण्टा घुम्न रमाउने पर्यटकहरु सबैभन्दा आनन्द लिने गर्छन् । हिउँमा खेल्ने, नाथुला बोर्डरसम्म घुम्ने र पर्वतीय क्षेत्रको प्राकृतिक आनन्दानुभुतिबाट आफुलाई भाग्यशाली ठान्ने पर्यटकहरुको ठूलो हिस्सा पनि पुग्छ सिक्किममा । नेपालीहरुका लागि भने सिक्किम प्राकृतिक सुन्दरताले मनमोहक ठाउँ हो भन्ने कम र इतिहासको एउटा शिक्षालय हो भन्ने अर्थमा बढी हेरिने गर्छ ।

नेपालको राजनीतिमा राष्ट्रियतालाई मूल मुद्दा बनाइन्छ र कसैलाई समाप्त गर्नु छ भने त्यसलाई लेण्डुप दोर्जेसंग तुलना गरिन्छ । सिक्किम भारतमा विलय हुँदा लेण्डुप राजा नाम्गेलको विरुद्धमा थिए र भारतीय हस्तक्षेपका प्यादा थिए । सायद त्यसैले नेपालमा राष्ट्रियता खतरामा परेको तर्क गर्नेहरुले सिक्किमीकरणको निकै चर्चा गर्ने गर्छन् । यस अर्थमा पनि नेपालका लागि सिक्किमको भुगोल, इतिहाँस, राजनीति, समाज,विकास र समृद्धि एवं मनोविज्ञान बुझ्नु अर्थपूर्ण हुने गर्छ । (हेर्नुस भिडियो)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology